Friday, June 20, 2008

बुढी आमाको व्यथा:


उहिले मेरो घरमा एउटा जोगी आयो
विश्‍वास गर मलाई, सर्वस्व दिन्छु भन्यो
विश्‍वास गरेँ मैले उसका प्रत्येक आश्‍वासन
जोगीको विरोध गर्ने म, उल्टै भक्त बनेँ
तर, त्यो जोगी बिदा भयो
उसको वचन मिथ्या भयो
मलाई मात्र होइन परिवारलाई नै दुःख दिइ
कोट्ट्याउँदा आलो रगत आउने घाउ दिएर गयो ॥१॥
दिन पर दिन त्यस्ता जोगी आउँदै गए
पूरा परिवारले विश्‍वास गर्दै गयौं
तिम्रो परिवारको भविष्य बनाउँछु भन्नेहरू
आफ्नै भाषा फेर्न थाले
जोगी पिच्छेका कुरा पत्याउँदै गइयो
एक दिन पहिलेको जोगीलाई नपत्याउ भनेर
आठ-आठ जोगी आए, अनि आठै थरीका कुरा गरे
पछि सबैले एकै भएको नाटक पनि गरे
कुन्नि कसका आँखा लाग्यो हाम्रो परिवारमा,
विभिन्न जोगीका कुरा पत्याउने क्रममा
घरमा झगडा हुन थाल्यो
सबैलाई भाग चाहिन थाल्यो
आठ जोगी सात भएछन् बरू
तर, हाम्रो परिवार चिरा-चिरा भयो
दशौं चिराहरू भए, सङ्ख्या गन्नै गाह्रो भयो ॥२॥
एउटा भन्छ तँ काले, अर्को भन्छ तँ गोरे
एउटा भन्छ तँ चुच्चे, अर्को भन्छ तँ नेप्टे
एउटा भन्छ पूर्व, अर्को भन्छ पश्‍चिम
अर्को भन्छ उत्तर, अर्को भन्छ दक्षिण
कोही भन्छन् माथि जाउँ, कोही भन्छन् उछिट्याउँ
वैमनस्यताले शिखर छोयो, सबैलाई अंशबण्डा चाहिन थाल्यो
म बुढी आमा कसको पक्ष लिउँ?
मिलाउँछु भन्दा बादबिवाद झन बढ्न थाल्यो
म झन थल्लिँदै जान थालेँ
तिमीलाई क्यान्सर भयो भनेर
नजिककाले मात्र होइन टाढाकाले पनि भन्न थाले
डाक्टरकहाँ म गए, उसले मनोरोग लेखिदियो
सबै परिवार मिलेमा रोग निको हुन्छ भनिदियो
यो सुनेर मिलौंला त भन्न थाले,
तर मिल्ने काम चाहिँ गर्दै गरेनन्
आज म बुढीको जिउभर घाउ भएको छ,
मलाई देश दुख्‍न थालेको छ ॥३॥
अब म भन्छु, जोगीका कुरा नपत्याउ
मिल्न नसके झगडा पनि नगराउ
मेरो देश नदुखाउ
थला पर्दा पानी खुवाउने कोही छैन,
व्यथा बुझ्ने कसले मेरो?
हे ईश्‍वर तिमि नै आएर
मेरा सन्ततिलाई बुद्धि दिइ
उनीहरूको झगडा मिलाइदेऊ

No comments: